माध्यमिक तहमा स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्छ : विशेषज्ञको माग

काठमाडौं । किशोर-किशोरीलाई यौनिकता, स्वास्थ्य र शरीरसम्बन्धी सही जानकारी दिन माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा विशेषज्ञहरूले जोड दिएका छन्।

शुक्रबार काठमाडौंमा बियोन्ड बेजिङ समितिद्वारा आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रियामा समितिकी उपाध्यक्ष डा. लक्ष्मी तामाङले विद्यालय तहमा यौन शिक्षाको खाँचो गम्भीर रहेको बताइन्।

उनका अनुसार हाल कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य भए पनि सामाजिक लाज र संकुचित सोचका कारण विद्यार्थीले खुला रूपमा बुझ्न सक्दैनन् भने, शिक्षकहरू पनि सहज रूपमा पढाउन सक्दैनन्।

कक्षा ९ र १० मा स्वास्थ्य शिक्षा ऐच्छिक विषयमा सीमित छ, जसले गर्दा धेरै विद्यार्थीले यस विषयमा पहुँच नपाउने अवस्था छ।

डा. तामाङले किशोरावस्थामै यौन शिक्षा दिइन सकेमा यौनजन्य रोग, बालमै विवाह, यौनजन्य हिंसा लगायतका विकृति न्यूनीकरण गर्न सकिने उल्लेख गरिन्। उनले सञ्चारमाध्यमलाई पनि यस्ता विषयमा जनचेतनामूलक अभियान सञ्चालन गर्न आग्रह गरिन्।

उनले भनिन्, “यौन शिक्षा भनेको गलत कुरा होइन, यो जीवनको सामान्य र आवश्यक हिस्सा हो। स्वास्थ्य शिक्षालाई माध्यमिक तहमा अनिवार्य गरौँ, ताकि हाम्रो युवा पुस्ता सुरक्षित, स्वस्थ र सशक्त बनून।”