शिक्षा समितिको बैठक सुरु, विद्यालय शिक्षा विधेयकमा दफावार छलफल हुने

काठमाडौँ — सिंहदरबारमा आज बुधबार दिउँसो प्रतिनिधिसभाको शिक्षा समितिको बैठक सुरु भएको छ। बैठकमा शिक्षा उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदनमाथि छलफल सुरु गरिएको छ।

समितिका सदस्यहरूले विधेयकबारे आ–आफ्नो धारणा राखिरहेका छन्। प्रतिवेदनमा उठाइएको विषयहरूबारे विस्तृत रूपमा छलफल गरी दफा–दफामा अध्ययन गर्ने कार्यसूची रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त पनि बैठकमा सहभागी छन्। मन्त्री पन्तले विधेयकको आवश्यकता, लक्ष्य र सरकारको तयारीबारे जानकारी गराउने अपेक्षा गरिएको छ।

विद्यालय शिक्षा विधेयक लामो समयदेखि बहसको विषय रहँदै आएको छ। यसले शिक्षकको सेवा स्थायित्व, सामुदायिक र निजी विद्यालयको व्यवस्थापन, पाठ्यक्रम विकास लगायतका विषय समेट्नेछ। समितिको आजको बैठकले भविष्यको शिक्षा नीतिको दिशानिर्देश तय गर्ने विश्वास गरिएको छ।