पर्वतमा एमाले युवा नेताहरूबीच झडप, दुई घाइते

पर्वत — नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा मंगलवार युवा संघका नेता तथा कार्यकर्ताहरूबीच झडप भएको छ। झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा संघ नेपालका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन्। पौडेललाई पर्वतस्थित शान्तिदिप अस्पतालमा भर्ना गरी उपचार भइरहेको जनाइएको छ।

झडपको मूल कारण पार्टीभित्रको आन्तरिक गुटबन्दी रहेको बताइएको छ। एमालेभित्र सक्रिय गणेश तिमिल्सिना र पदम गिरी समूहबीच पछिल्लो समय बढ्दो विवाद चुलिँदै गएको छ। गिरी पक्षले आज जिल्ला अधिवेशनको कार्यक्रम तय गरेको थियो, तर तिमिल्सिना पक्षले समय परिवर्तन गर्न आग्रह गर्दै आएको थियो।

कार्यक्रम निर्धारित समयमा उद्घाटन गर्ने क्रममा गिरी पक्षका युवाहरूले उद्घाटन गरेपछि तिमिल्सिना पक्षका कार्यकर्ताहरूले तीव्र विरोध जनाए। सोही क्रममा वादविवादले उग्र रुप लिँदै झडपमा परिणत भएको हो।

पार्टी नेताहरूले आन्तरिक समन्वयको अभावका कारण स्थिति नियन्त्रण बाहिर गएको स्वीकार गरेका छन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।