एमाले धनुषा अधिवेशनमा कुर्सी हानाहान र तोडफोड, निर्वाचन प्रक्रिया अवरुद्ध

जनकपुरधाम, वैशाख २३ – नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा मंगलबार तनावपूर्ण अवस्था सिर्जना भएको छ। नयाँ नेतृत्व चयनको क्रममा दुई पक्षबीच विवाद चर्किएपछि अधिवेशन स्थलमा कुर्सी हानाहान र तोडफोड भएको हो।

प्रतिनिधिहरूका अनुसार अधिवेशनमा सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच वादविवाद सुरु भएको थियो। विवादले उग्ररूप लिएपछि निर्वाचन समिति बसेको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर र ल्यापटप तोडफोड गरिएको बताइएको छ।

एमाले धनुषाको अधिवेशन आइतबारदेखि सुरु भएको हो। सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गरिएको थियो। त्यसअनुसार उम्मेदवारी दर्ता भई अन्तिम नामावली प्रकाशनको तयारी भइरहेकै बेला विवाद उत्पन्न भएको हो।

केन्द्रीय सदस्य अरगरिया र निवर्तमान अध्यक्ष राजकिशोरको समूहले निर्वाचन हार्ने डरले प्रक्रिया अवरुद्ध गर्न खोजेको आरोप लागेको छ। निर्वाचन आयोग प्रमुख विजय सुब्बामाथि गालीगलौज गरिएको र कार्यकक्षमा तोडफोडसमेत गरिएको प्रतिनिधिहरूले बताएका छन्।

अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवले उम्मेदवारी दिएका छन्। भोला महासेठ पक्षका हुन् भने लक्ष्मीनारायण उमाशंकर–राजकिशोर पक्षबाट अघि सरेका हुन्।

मधेस प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य लिलानाथ श्रेष्ठको भूमिका पनि विवादमा तानिएको छ। श्रेष्ठमाथि निष्पक्ष भूमिका नखेलेको आरोप लगाउँदै नाराबाजी भएको थियो।

धनुषाबाट अधिवेशनमा सहभागी ६३० जना प्रतिनिधिहरूको उपस्थिति रहेको छ। घटनापछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको छ। पार्टी नेतृत्वले यस विषयमा आधिकारिक धारणा अझै सार्वजनिक गरिसकेको छैन।