भैरहवा, रुपन्देही । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्न माग गर्दै भैरहवामा आज एक घण्टे धर्ना कार्यक्रम सम्पन्न भएको छ। उडान ठप्प भई स्थानीय व्यापार र निजी क्षेत्र धराशायी बन्दै गएको भन्दै स्थानीय संघसंस्थाहरू आक्रोशित बनेका छन्।

उद्योग व्यापार संगठन रुपन्देही (चेम्बर अफ कमर्स) को अगुवाइमा आयोजित धर्नामा दर्जनौं संघसंस्थाहरूले विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन अघिको मूल गेटमा नाराबाजी र विरोध प्रदर्शन गरेका थिए। धर्नामा सहभागीहरूले ‘उडान देउ, भैरहवा बचाउ’, ‘विमानस्थल खोल, व्यापार जोगाउ’ जस्ता नाराहरू लेखिएका ब्यानर बोकेका थिए।
संघ संगठनका अध्यक्ष दर्पण श्रेष्ठका अनुसार, “विमानस्थल सञ्चालनमा नरहँदा स्थानीय पर्यटन, व्यापारिक ढुवानी, र निजी क्षेत्र गम्भीर संकटमा परेको छ। दिनको एक घण्टा धर्ना कार्यक्रमको उद्देश्य केन्द्र सरकारलाई तत्काल निर्णय गर्न दबाब दिनु हो।”
धर्नामा सिद्धार्थ सञ्जाल रुपन्देही, लुम्बिनी इँटा व्यवसायी संघ, ट्राभल एण्ड टुर अपरेटर संघ, नेपाल भन्सार एजेन्ट संघ, ट्रक व्यवसायी संघ, सहकारी सञ्जाल, धार्मिक संघसंस्थालगायत विभिन्न समूहहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
विमानस्थलका सूचना अधिकारी विनोद राउतले रातोपाटीसँग कुरा गर्दै भने, “केन्द्रबाट उडान पुनः सञ्चालनको पहल भइरहेको छ, तर कुन कम्पनीले कहिलेदेखि सुरु गर्ने भन्ने अझै यकिन भइसकेको छैन।”
सरकारले अरबौं लगानीमा निर्माण गरेको विमानस्थल लामो समयदेखि प्रायः निष्क्रियजस्तै बनेको भन्दै स्थानीय स्तरबाट दबाब दिन थालिएको छ। यदी निकट भविष्यमा कुनै निर्णय भएन भने आन्दोलनलाई थप उग्र बनाइने संकेत धर्ना आयोजकहरूले दिएका छन्।
Leave a Reply