जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सांसद गीता गुरूङले राजीनामा दिएको पत्र फरक इमेल ठेगानाबाट प्रदेश सचिवालयमा प्राप्त भएपछि यसको आधिकारिकतामाथि गम्भीर प्रश्न उठेको छ। गुरूङले यसअघि प्रयोग गर्दै आएको इमेल ठेगानाभन्दा फरक इमेलमार्फत पत्र पठाइएकोले सचिवालयले त्यसको पुष्टि नभएसम्म प्रक्रिया अगाडि नबढाउने स्पष्ट पारेको छ।
गुरूङ हाल बेलायतमा रहेकी छन्। उनले वैशाख ३० गते आफ्नो राजीनामा पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गराएकी थिइन्। त्यो पत्र सांसद गुरूङकी श्रीमान् कैलाश गुरूङले सार्वजनिक गरेका थिए। भोलिपल्ट मात्रै उक्त पत्र सचिवालयमा इमेलमार्फत पठाइएको थियो।
सचिवालयले भने उक्त इमेल गुरूङको पुरानो आधिकारिक इमेल नभएको, हस्ताक्षर नमिल्ने, र पत्रको व्यहोरा पनि शंकास्पद रहेको भन्दै उनी आफैँ उपस्थित नभएसम्म स्वीकृत प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ।
कैलाशले सांसद गुरूङको स्वकीय शारदा चौधरीको इमेलमार्फत राजीनामा पठाइएको बताएका छन्। तर सचिवालयमा ‘Geeta Gurung…’ नामको इमेलबाट पत्र आएको र यसअघि उनले ‘Gita Gurung…’ नामको इमेल उपलब्ध गराएको दाबी गरिएको छ।
राजीनामा पत्रमा गुरूङले जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेर राजीनामा दिएको उल्लेख गरेकी छन्। तर प्रदेशसभा सचिवालयका अनुसार उनले वैशाख महिनासहितको तलब भत्ता बुझिसकेकी छन्। उनले मासिक ७२ हजार ७ सय रुपैयाँ बुझ्दै आएकी थिइन्। बैठक भत्ता छुट्टै रूपमा एक हजार रुपैयाँ थियो जुन उनले ३४ बैठक सहभागी भएर लिएकी थिइन्।
जनमत पार्टीसँग दूरी बढेपछि गीता गुरूङ पार्टीको सम्पर्कमा नरहेको, बैठकमा नआएको, र जनप्रतिनिधिको जिम्मेवारीसमेत पूरा नगरेको जनमतका नेताहरू बताउँछन्। उनका श्रीमान् कैलाश गुरूङले चैत ९ गते जसपा नेपालमा प्रवेश गरेसँगै गीता पनि पार्टीबाट टाढा भएकी थिइन्। उनीहरूलाई मन्त्री बनाउन पार्टीमा पटक–पटक दबाब दिएको चर्चा समेत रहेको छ।
लुम्बिनी प्रदेशसभा अन्तर्गत जनमत पार्टीबाट गीता गुरूङसँगै चन्द्रकेश गुप्ता ‘सिके’ र सुमन शर्मा रायमाझी गरी तीन जना सांसद रहेका छन्। संसदीय दलका नेता गुप्ताले गीता लामो समयदेखि न पार्टी सम्पर्कमा रहेको न त प्रदेशसभा बैठकमा सक्रिय रहेको भन्दै आलोचना गरेका छन्।
Leave a Reply