भोजपुर — रामप्रसादराई गाउँपालिका–६ मा अवस्थित रहस्यमय धार्मिक तथा ऐतिहासिक स्थल ‘गोल्मे राजा, गोल्मे रानी’ समयको प्रवाहमा ओझेलमा परेको छ। प्रचारप्रसारको अभाव र पहुँचको कठिनाइले गर्दा यो अनौठो गन्तव्य अझै पनि आम दृष्टिबाट टाढै छ।
स्थानीय पाण्डव राईका अनुसार, परापूर्वकालमा गोल्मे राजा र रानीको बिहे जन्ती लिएर यहाँ आइपुग्दा कलियुग सुरु भएपछि उनीहरू सहित सम्पूर्ण जन्ती नै अलप भएको धार्मिक कथन रहिआएको छ। यस किंवदन्तीका आधारमा यो क्षेत्रको नाम ‘गोल्मे राजा, गोल्मे रानी भिर’ रहन गएको बताइन्छ।
यो क्षेत्रमा आज पनि जन्तीजस्तै लहरै रहेका ढुङ्गाहरू, बाजागाजाको आकृति, घोडा, ढोला झ्याम्टा, र स्वयं राजारानीको स्वरूपजस्ता ढुङ्गाहरू स्पष्ट देख्न सकिन्छ। यी आकृतिहरूले किंवदन्तीलाई जीवन्त बनाइरहेका छन्।
राजेन्द्र राईका अनुसार, गोल्मे राजाले उदयपुरको चौडण्डीगढीबाट जन्ती लिएर धनकुटाको राजारानी पुग्ने क्रममा यहाँ अलप भएका थिए। त्यो घटनाको सम्झनामा बनेका ढुङ्गा, पापद्धार, धर्मद्धार, बन्दुकको गहिरा, गुन्टे, खड्कुले ढुङ्गा र मालिगाईका आकृतिहरू अझै देख्न पाइन्छ।
स्थानीय वडाध्यक्ष एकराज आचार्यले जानकारी दिएअनुसार, यस स्थलको काखमा बहने गङ्गा खोलाको तीनवटा स्थायी मुहान छन्, जसमा कहिल्यै पानी सुक्दैन, बरु वर्षात्को बेला पनि धमिलो हुँदैन। विशेष कुरा के छ भने यी मुहानहरू दक्षिणबाट उत्तरतर्फ बग्छन् — जुन भौगोलिक हिसाबले निकै दुर्लभ मानिन्छ।
स्थानीयहरूको विश्वास छ, यहाँ दर्शन गरेमा मनोकाङ्क्षा पूर्ण हुन्छ। भक्तजनहरू त आउँछन् तर अझैसम्म पर्यटकहरूलाई आकर्षित गर्ने योजना गम्भीर रूपमा लागु भएको छैन।
वडाध्यक्ष आचार्यका अनुसार, अब भने पदमार्ग निर्माण गरी गोल्मेसम्मको पहुँच सहज बनाउने योजना अघि बढाइएको छ, जसले भविष्यमा यो स्थललाई राष्ट्रियस्तरमै चिनाउने अपेक्षा गरिएको छ।
Leave a Reply