सरकारको कार्यशैली सुधार्नुपर्छ, जिम्मेवारी बोकेकाहरूमा छटपटाहट छैन’

काठमाडौ,नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले हालको सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै जवाफदेही र उत्तरदायित्व बोधको चरम अभाव रहेको टिप्पणी गरेका छन्। Mews Media संग विशेष अन्तर्वार्तामा बोल्दै उनले नीति बनाउनेदेखि कार्यान्वयन गर्ने तहसम्म सुस्पष्ट दिशा र इच्छाशक्तिको खडेरी रहेको बताएका छन्।

“सरकार चलाउनेहरूमा जिम्मेवारीको अनुभूति हुनु त परै जाओस्, कुनै किसिमको छटपटाहट नै छैन,” उनले स्पष्ट रूपमा भने। “जनताको पीडा बुझ्न र समाधान खोज्नका लागि नेतृत्व तहमा सक्रियता चाहिन्छ, जुन हाल देखिदैन।”

गगन थापाले विशेषगरी स्वास्थ्य, शिक्षा, युवा रोजगारी र सुशासनका सवालमा सरकार असफल भएको दाबी गरे। “नीति बनाउँदा जनताको आवाज समेटिएको जस्तो देखिन्छ, तर कार्यान्वयनमा पुग्दा तिनै नीति फाइलमा थन्किएर बस्छ,” उनको टिप्पणी थियो।

नागरिकले महसुस नगर्ने सरकार निष्क्रिय हो

थापाले भने, “सरकार नागरिकले महसुस गर्नसक्ने खालको हुनुपर्छ – जनताको जीवनमा परिवर्तन ल्याउने खालको। आज नागरिकसँगको संवाद हराउँदै गएको छ। यस्तो अवस्थामा सरकार जनताको नजरमा अप्रासंगिक बन्दै जान्छ।”

उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको समन्वयको अभावलाई पनि विफलताको प्रमुख कारण ठहर गरे।

सुधारको एक मात्र उपाय: दवाब र सचेत नागरिकता

गगन थापाको ठम्याइमा, जबसम्म जनताले सरकारमाथि दवाब सिर्जना गर्दैनन्, सुधारको सम्भावना न्यून हुन्छ। “सचेत नागरिक र सचेत प्रतिनिधिको संयोजनबिना सुधार सम्भव छैन,” उनले भने।

थापाले युवाहरूलाई सक्रिय भएर नेतृत्व निर्माणमा सहभागी हुन आह्वान गरे। “हामीकहाँ परिवर्तनको सपना देख्ने धेरै छन्, तर त्यो सपना साकार पार्न साहसका साथ अगाडि बढ्नेहरू चाहिन्छ,” उनले जोड दिए।

अन्त्यमा, उनको स्पष्ट सन्देश – “सरकार जनताको हो, जनताकै लागि हो, तर त्यसका लागि सरकारलाई जनताले समयमै ऐना देखाउनुपर्ने हो।