इण्डियन प्रिमियर लिग (IPL) मा गएराति रोमाञ्चक भिडन्त देखिएको छ। गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३८ रनको फराकिलो अन्तरले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो उपस्थिति बलियो बनाएको छ।
पहिलो ब्याटिङमा उत्रिएको गुजरातले कप्तान शुभमन गिलको धमाकेदार पारीको भरमा ६ विकेटको क्षतिमा २२४ रनको विशाल स्कोर खडा गर्यो। गिलले केवल ३८ बलमा १० चौका र २ छक्कासहित ७६ रन बनाउँदै कप्तानको भूमिका शानका साथ निभाए। जोश बट्लरले पनि आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ४ छक्का र ३ चौकासहित ६४ रन बनाए। साई सुदर्शनले २३ बलमै ९ चौका प्रहार गर्दै ४८ रनको महत्वपूर्ण योगदान दिए।
हैदरावादका बलरहरूमध्ये जयदेव उनाडकट प्रभावशाली रहे, जसले ३ विकेट हात पारे भने पाट कमिन्स र जीशन अन्सारीले एक–एक विकेट लिए।
२२५ रनको भारी लक्ष्य पछ्याउने क्रममा हैदरावाद सुरुवातमै दवावमा देखियो। अभिषेक शर्माले भने एक्लैले लड्दै ४१ बलमा ४ चौका र ६ छक्का सहित ७४ रन बनाएर झिल्को देखाए। हेनरिच क्लासेनले २३, ट्राभिस हेडले २०, नितिशकुमार रेड्डीले २१ रन बनाए भने कप्तान पाट कमिन्स १९ रनमा नटआउट रहे। तर अन्य ब्याटरहरु खासै चम्कन सकेनन्।
गुजरातका लागि बलिङमा मोहम्मद सिराज र प्रशिध कृष्णले २–२ विकेट लिए भने इशान्त शर्मा र जेराल्ड कोइत्जीले १–१ विकेट झारे।
जितसँगै गुजरातको १४ अंक पुगेको छ र उसले रनरेटको आधारमा दोस्रो स्थान कब्जा गरेको छ। समान १४ अंक भए पनि मुम्बई इन्डियन्स एक खेल बढी खेलेको कारण शीर्ष स्थानमा छ।
त्यसैगरी, हैदरावादको लागि यो हार झन् दुखद बन्यो, किनकि उसले लगातार खराब प्रदर्शन गर्दै नवौं स्थानमा चिप्लिएको छ।G
Leave a Reply