काठमाडौं – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित हजारौं बिरामीहरू अंग प्रत्यारोपणको पर्खाइमा रहेको बताएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशभर करिब ८ हजार बिरामी मिर्गौलाको अन्तिम चरणमा पुगेको र उनीहरू प्रत्यारोपणको आशामा रहेको उल्लेख गरिन्।
गौतमले भनिन्, “मिर्गौला रोगको अन्तिम चरणमा पुगेका ९० प्रतिशत बिरामी अंगदाता नपाएर ज्यान गुमाइरहेका छन्। केवल १० प्रतिशत बिरामीले मात्र प्रत्यारोपणको अवसर पाएका छन्।” उनका अनुसार, अंगदाता नपाएकै कारण धेरै बिरामीहरू डायलाइसिसमै निर्भर हुन बाध्य छन्, जसले शारीरिक, मानसिक र आर्थिक रूपमा तिनीहरूको अवस्था झनै कठिन बनाएको छ।
सरकारले मिर्गौला बिरामीलाई लक्षित गर्दै ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ लागू गरे पनि यसको पूर्ण कार्यान्वयन अझै हुन नसकेको गौतमको आरोप छ। सो नियमावलीले मस्तिष्क मृत व्यक्तिबाट अंग लिन सक्ने व्यवस्था गरेको छ तर आवश्यक समन्वय इकाइ नतोकिनुले नियमावली कार्यान्वयनमा समस्या देखिएको उनले बताइन्।
उनले थप भनिन्, “हरेक वर्ष डायलाइसिसमा मात्रै सरकारले झन्डै डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको छ। यदि प्रत्यारोपणको प्रक्रिया सहज बनाइयो भने न त बिरामीको पीडा रहन्छ न त राज्यको ठूलो खर्च।”
सांसद गौतमले सरकारसँग नियमावलीको प्रभावकारी कार्यान्वयन, समन्वय इकाइको गठन र अंग प्रत्यारोपण प्रक्रियालाई सरल बनाउने माग राखेकी छन्।
Leave a Reply