काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड १६औँ प्रिज्मा डि सिने अवार्ड को उत्कृष्ट अभिनेत्रीको सूची सार्वजनिक गरिएको छ । यस वर्ष अभिनेत्री स्वस्तिमा खड्का, मिरुना मगर, केकी अधिकारी, सुरक्षा पन्त र सुहाना थापा उत्कृष्ट हिरोइनको उपाधिका लागि मनोनयनमा परेका छन् ।
फिल्म ‘दिमाग खराब’ मा स्वस्तिमा खड्काको जोशिलो अभिनय र ‘जारी’ मा मिरुना मगरको संवेदनशील भूमिकाले दर्शक र समीक्षक दुवैको मन जित्न सफल भएको देखिन्छ । केकी अधिकारीले ‘प्रसाद–२’ मा प्रस्तुत गरेको गम्भीर तथा सशक्त चरित्रलाई समीक्षात्मक दृष्टिले सराहना गरिएको छ भने ‘बुलाकी’ मा सुरक्षा पन्तले ग्रामीण परिवेशको वास्तविकतालाई पर्दामा उतार्न सकिन् । त्यस्तै, सुहाना थापाले धार्मिक पृष्ठभूमिमा बनेको फिल्म ‘एक भगवत् एक गीता’ मा अभिनय गरेर आफ्नो स्टारडमलाई कायम राखेकी छिन् ।
यो वर्ष अभिनेता तर्फ दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की र खगेन्द्र लामिछानेबीच प्रतिस्पर्धा रहेको छ । विशेष कुरा के छ भने विपिन कार्की दुई फरक फिल्म ‘प्रसाद–२’ र ‘एक भगवत् एक गीता’ बाट मनोनयनमा परेका छन् ।
छाया छवि क्रियशनको आयोजनामा हुँदै आएको डि सिने अवार्डले नेपाली फिल्मकर्मीहरूलाई प्रोत्साहित गर्दै आएको छ । यसपटक पनि २१ विधामा उत्कृष्टताको मूल्याङ्कन गरिनेछ । आयोजकका अनुसार दशैँ–तिहारको बीचमा कार्यक्रम आयोजना गरी विजेताहरूको घोषणा गरिनेछ ।
अवार्डमा मनोनयन पर्नु नै कलाकार र प्राविधिकका लागि ठूलो उपलब्धि मानिन्छ । अब अवार्ड कसले जित्लान् भन्ने जिज्ञासामा दर्शक उत्साहित छन् ।
Leave a Reply