रुपन्देही — लामो समयदेखि तालाबन्दीमा परेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको कार्यालय मंगलबार स्थानीय प्रशासन र सरोकारवालाको रोहवरमा खोलिएको छ। तर, कार्यालय खोलेपछि निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कागजात र सामग्री गायब भएको पाइएको छ।
संघका अध्यक्ष लेखनाथ भण्डारीका अनुसार, निर्वाचनका लागि तयार पारिएका मुचुल्कासहितका सबै निर्वाचन सामग्री फेला नपरेको हो। यसअघि संघमा असन्तुष्ट पक्षले गत चैत २० गते ताला लगाएका थिए। उक्त असन्तुष्ट समूहको नेतृत्व संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद खनालले गरेका थिए। उनी सदस्यता छानबिन समितिका संयोजकसमेत हुन्।
संघले चैत २४ र २५ गते साधारण सभा तथा अधिवेशनको मिति तय गर्दै त्यसको पाँच दिन अघिदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गरेको थियो। तर, उम्मेदवारी सहमति विपरीत दर्ता गरिएको, फर्जी मतदाता समावेश गरिएको जस्ता आरोप लगाउँदै असन्तुष्ट पक्षले संघको कार्यालयमा ताला लगाएका थिए।
संघ, स्थानीय सरकार, प्रशासन र प्रहरीबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा अधिवेशन स्थगित भएको थियो। अन्ततः इलाका प्रशासन कार्यालय बुटवलका नासु कृष्णप्रसाद पन्थी, बुटवल उपमहानगरपालिका–९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शालिकराम खनाल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतको रोहवरमा ताला खोलिएको हो।
निर्वाचन समिति संयोजक तथा संघका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता शालिकराम वञ्चाडेका अनुसार, निर्वाचनका सम्पूर्ण प्रमाण र दस्तावेजहरू हराएको अवस्थामा अब त्यसको जिम्मेवारी ताला लगाउने पक्षले लिनुपर्ने देखिन्छ। अध्यक्ष भण्डारीले कर्मचारीले लगाएको ताला फोरेर असन्तुष्ट पक्षले आफ्नो ताला लगाएको दाबी गर्दै अब सबै पक्षसँग छलफल गरेर अगाडि बढ्ने बताए।
४५ दिन लामो तालाबन्दीपछि खुलेको संघको कार्यालयबाट हराएका सामग्रीबारे थप छानबिन हुने अपेक्षा गरिएको छ।
Leave a Reply