काठमाडौँ — जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन पाँच कर्मचारीविरुद्ध पाँच करोड रुपैयाँभन्दा बढीको सरकारी रकम दुरुपयोग गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक बचत बैंकमा सर्वसाधारणबाट संकलन गरिएको रकम कुनै आधिकारिक अभिलेखबिनै अपचलन गरिएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार मुद्दा दायर गरेको हो।
मुद्दामा हाल कार्यालय प्रमुख रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मी, तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहलाई प्रतिवादी बनाइएको छ।
अनुसन्धानअनुसार, कुर्मीले २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनले सो अवधिमा बैंक खातामा जम्मा भएको रकम नगदी रजिस्टरमा प्रविष्टि नगरी, केवल लेजर बुक र पासबुकमा मात्र देखाएर आफूखुसी रकमको दुरुपयोग गरेका थिए।
अख्तियारको दाबीअनुसार, कार्यालय प्रमुखहरूसँग मिलेमतोमा गरिएको हिनामिनाले सरकारी खाताबाट साँवा र ब्याजसहित जम्मा पाँच करोड पैँतीस लाख चौसठ्ठी हजार दुई सय उनासी रुपैयाँ तेत्तीस पैसा अपचलन भएको छ।
प्रतिवादीहरूमाथि कार्यसम्पादनको क्रममा लेखाजोखा नगरेको, केन्द्रीय कार्यालयमा विवरण नपठाएको र दाखिला नगरी रकम अपचलनमा संलग्न भएको आरोप छ। आयोगले सबै आरोपितहरूविरुद्ध बिगो कायम गरी कैद र जरिवानाको माग दाबी गरेको छ।
Leave a Reply