रौतहट — ललाइफकाइ प्रलोभन देखाएर नेपाली युवतीलाई भारतको दिल्लीस्थित वेश्यालयमा पठाउन खोज्ने एक युवकलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ।
घटना भारतको बिहार राज्य अन्तर्गत मोतीहारी जिल्लाको झरौखर थाना क्षेत्र अन्तर्गत जमुनिया एसएसबी क्याम्पमा गत राति घटेको हो। पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१० देवापुर टेन्टा घर भएका २५ वर्षीय सुरज गुप्ता रहेका छन्।
एसएसबी ७१ औँ बटालियनका कमान्डेन्ट प्रफुल पटेलका अनुसार गुप्ताले २० वर्षीया विवाहित युवतीलाई भारत लैजाँदै गर्दा रोकिएको थियो। युवती बारा जिल्लाकै अमृतगन्जकी पासवान थरकी हुन्। प्रारम्भिक बयानमा विभिन्न कुरा बोलेका गुप्ताले पछि दिल्लीस्थित आफ्नी सानी आमाले सञ्चालन गरेको यौन व्यवसायमा युवतीलाई लैजान लागेको स्वीकार गरेका हुन्।
एसएसबीले पछिल्लो समय रौतहट र बाराका विभिन्न गाउँबाट नेपाली चेलीहरूलाई भारत पुर्याउने घटनाहरूमा वृद्धि भएकाले नेपाली सुरक्षाकर्मीहरूलाई सीमा क्षेत्रमा निगरानी बढाउन सुझाव दिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपक कुमार रायले पनि घटनाको पुष्टि गरेका छन्। उनले पक्राउ परेका युवक र युवती दुवैको घर बारा जिल्लामा भएकाले थप अनुसन्धानका लागि उनीहरूलाई बारा प्रहरीको जिम्मा लगाइएको जानकारी दिएका छन्।
Leave a Reply