हुम्लाको तिलगाउँमा सुक्खा पहिरो, १८ घरपरिवार सुरक्षित स्थानमा सारियो

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा आइतबार अचानक सुक्खा पहिरो जाँदा जोखिममा परेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

तिलगाउँको उत्तरतर्फबाट आएको पहिरोले स्थानीय बासिन्दाहरूका घरहरूमा क्षति पु-याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। उनका अनुसार पहिरो प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट हिल्सा (BOP Hilsa) बाट उद्धार टोली खटाइएको छ।

टोलीसँग आवश्यक विपद् उद्धार सामग्री र बन्दोबस्तीका सामानहरू पठाइएको छ। पहिरोमा पानीको लेदो पनि मिसिएको हुनाले घटनास्थलभन्दा माथि हिमताल रहेको आशंका गरिएको छ। यसबारेमा हालसम्म अवलोकन भइरहेको जनाइएको छ।

सुक्खा पहिरोको कारण यकिन नभए पनि पहिरोसँगै पानी र लेदो बगेको देखिएको छ, जसले थप सम्भावित जोखिमको संकेत दिएको छ। स्थानीयवासी त्रासमा छन् भने उद्धार टोली सक्रिय रूपमा राहत कार्यमा जुटिरहेको छ।

यसबीचमा केही स्थानीयहरू खुला स्थानमा बस्न बाध्य छन् भने मौसम अस्थिर रहँदा जोखिम अझ बढेको छ। प्रशासनले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।