नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भारत–पाकिस्तानबीच बढ्दो युद्धको परिस्थितिमा नेपालले निष्क्रिय दर्शक बन्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्वोधन गर्दै सार्क अध्यक्ष राष्ट्रको हैसियतले नेपालले विश्व राजनीतिमा देखिनेगरी सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार सार्वजनिक रूपमा ध्यानाकर्षण गराउँदै शर्माले भने, “आतङ्कवाद नियन्त्रण आवश्यक छ, तर युद्ध चाँडो अन्त्य गर्न सशक्त कूटनीतिक प्रयास पनि उत्तिकै जरूरी छ। सार्क अध्यक्षको रूपमा नेपालको सक्रियता समग्र विश्वले महसुस गर्न सक्ने उचाइको हुनुपर्छ।”
जोखिम क्षेत्रबाट नेपालीहरूको रेस्क्यूमा प्राथमिकता
शर्माले भारत र पाकिस्तानमा अध्ययन, रोजगार तथा व्यवसायमा रहेका हजारौं नेपालीहरूको सुरक्षालाई प्राथमिकता दिनु सरकारको पहिलो कर्तव्य भएको बताए।
“जोखिम क्षेत्रका लागि सूचना र सम्पर्क नेटवर्क बनाउँदै काठमाडौँ, दिल्ली र इस्लामाबादमा सरकारले रेस्क्यू डेस्क स्थापना गर्नुपर्छ,” उनले भने। साथै, घर फर्कन चाहने नेपालीहरूलाई सहजीकरण गर्न सर्वोच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्।
राष्ट्रिय विमर्श र तयारीको आवश्यकता
भारत–पाकिस्तानबीचको सम्भावित युद्धले नेपालको आयात, बजार मूल्य, उड्डयन, व्यापार र पर्यटनमा गम्भीर असर पार्न सक्ने भन्दै उनले प्रधानमन्त्रीलाई सर्वदलीय छलफल आह्वान गर्न पनि आग्रह गरेका छन्।
शर्माका अनुसार यस्तो संवेदनशील अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकारहरूले आपतकालीन तयारी क्षमता बलियो बनाउनुपर्ने छ।
उनले स्मरण गराए, “बाह्य युद्धहरूमा नेपालले विगतमा भोगेका पीडाहरूबाट पाठ सिक्दै आज गम्भीर राष्ट्रिय एकता र दूरदर्शी नेतृत्व आवश्यक छ।”
Leave a Reply