भारतले रोक्यो सीमापार जाने पानी, पाकिस्तानसँग तनाव चुलियो

भारत र पाकिस्तानबीच हाल फेरि तनाव चुलिएको छ। जम्मू-कस्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानतर्फ चेनब नदीमार्फत जाने पानी लगभग पूर्ण रूपमा रोकेको छ। ब्लुमबर्गका अनुसार पाकिस्तानको इन्डस रिभर सिस्टम अथोरिटीका प्रवक्ता मुहम्मद खालिद इद्रीस रानाले यो आरोप लगाएका छन्।

भारतले सामान्यतया बिजुली उत्पादनका लागि केही समय पानी रोक्ने गरे पनि अहिलेको स्थितिमा करिब ९० प्रतिशत पानीको प्रवाह घटाइएको बताइएको छ। यसबाट पाकिस्तानमा सिँचाइका लागि ठूलो असर पर्न गएको छ, र दुई महिनासम्म खेतीयोग्य क्षेत्रहरूमा २० प्रतिशत पानी अभाव हुने अनुमान गरिएको छ।

आक्रमणमा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो, जसको आरोप भारतले पाकिस्तानमाथि लगाएको छ। पाकिस्तानले भने यस घटनासँग आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएको छ।

यही तनावको बीच भारतले ६५ वर्ष पुरानो सिन्धु पानी सन्धी एकतर्फी रूपमा तोडेको घोषणा गरेको छ। पाकिस्तानले भारतको पानी रोक्ने निर्णयलाई युद्ध घोषणा सरह मानिने चेतावनी दिएको भए पनि भारतले चेनब नदीको पानी रोक्ने कदम चालेको छ।

सैन्य गतिविधिहरू पनि बढेका छन्। भारतले आफ्ना नौसेनाका जहाजहरू प्रयोग गरेर जहाज डुबाउने अभ्यास गरेको छ भने पाकिस्तानले जमिनदेखि जमिनसम्म मार गर्ने मिसाइल परीक्षण गरेको छ। पाकिस्तानले उक्त मिसाइल परीक्षण समुद्रतर्फ गरेको हो, भारततर्फ होइन।

दुवै देशका सेनाबीच सिमा क्षेत्रमा गोली हानाहान भएको र भारतको जासुसी ड्रोन पाकिस्तानले खसालेको दाबी पनि आएको छ। यता चीन, साउदी अरब लगायतका खाडी मुलुकहरू र संयुक्त राष्ट्रसंघले दुई देशलाई संयमता अपनाउन अनुरोध गरिरहेका छन्।

यदि यो तनाव यस्तै चुलिदै गयो भने, स्थिति अझ गम्भीर हुनसक्ने देखिन्छ। पानीजस्तो संवेदनशील विषयलाई कूटनीतिक हतियारको रूपमा प्रयोग गरिनु दक्षिण एसियाको शान्ति र स्थायीत्वका लागि ठूलो खतरा बन्न सक्छ।