भारत-पाकिस्तान युद्ध रोक्न तयार

काठमाडौं । दक्षिण एशियाको शान्ति फेरि खतरा मोडमा पुगेको छ, र यही बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको चर्किँदो तनावमा मध्यस्थता गर्न तयार रहेको बताएका छन्। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा आक्रमण गरेपछि अवस्था निकै तनावपूर्ण बनेको हो।

अप्रिल २२ मा भएको उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो। यसको जबाफमा भारतले पाकिस्तान नियन्त्रित कश्मीरका पाँच र पाकिस्तानकै चार स्थानमा हवाई आक्रमण गरेको जनाएको छ। पाकिस्तानका अनुसार सो हमलामा महिला र बालबालिकासहित ३१ जनाको मृत्यु भएको छ भने ५७ जना घाइते छन्। भारतले पनि पाकिस्तानबाट भएको जबाफी आक्रमणमा १३ सर्वसाधारणको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जानकारी दिएको छ।

यी घटनाले आणविक हतियार भएका दुई शक्तिशाली छिमेकी राष्ट्रबीच पूर्ण युद्ध हुने खतरा निम्त्याएको छ। यसै सन्दर्भमा ट्रम्पले भनेका छन्,

“मैले केही गर्न सक्ने भए गर्छु। मेरो दुवै पक्षसँग राम्रो सम्बन्ध छ। म दुवैलाई धेरै राम्ररी जान्दछु र म उनीहरूले यो मिलाउन् भन्ने चाहन्छु।”

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकी विदेशमन्त्री मार्को रूबिओलाई फोनमार्फत घटनाबारे ब्रिफिङ गरेका छन्। ट्रम्प प्रशासनमा माइक वाल्जको स्थानमा रूबिओले राष्ट्रिय सुरक्षा सल्लाहकारको जिम्मेवारी लिएका छन्। रूबिओले पाकिस्तानी राष्ट्रिय सुरक्षा सल्लाहकार जनरल मोहम्मद असिम मलिकसँग पनि कुराकानी गरेका छन्।

भारतले यसबीच अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रूसलाई पनि हवाई आक्रमणबारे जानकारी गराएको छ। संयुक्त राष्ट्रसंघ, चीन, फ्रान्सलगायत देशहरूले दुवै पक्षलाई संयमता अपनाउन र वार्ताबाट समाधान खोज्न आग्रह गरेका छन्।