नयाँ दिल्ली — भारत–पाकिस्तानबीचको बढ्दो तनावका बीच भारतले महत्वपूर्ण कदम चाल्दै पञ्जाब, जम्मू–कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशमा रहेका २४ वटा विमानस्थललाई नागरिक उडानका लागि अस्थायी रूपमा बन्द गरेको छ।
भारतको नागरिक उड्डयन सुरक्षा ब्यूरो (BCAS) ले देशभरका सबै विमानस्थलहरूलाई उच्च सुरक्षा सतर्कता अपनाउन आदेश दिएको छ। यस अन्तर्गत देशभरका यात्रुहरू र एयरलाइन्सका लागि कडा सुरक्षा उपाय लागू गरिएको छ।
बीसीएएसका निर्देशन अनुसार अब:
- टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ।
- सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (SLPC) अनिवार्य गरिएको छ।
- प्रत्येक विमानमा एयर मार्शल तैनाथ गरिनेछ।
- एयर इन्डिया लगायतका एयरलाइन्सहरूले यात्रुहरूलाई कम्तीमा ३ घण्टा अघिनै विमानस्थल पुग्न अनुरोध गरेका छन्।
- चेक-इन समय ७५ मिनेट अगाडि नै बन्द हुने घोषणा गरिएको छ।
एयर इन्डियाले आधिकारिक रूपमा एक्स (पूर्व ट्विटर) मार्फत यात्रुहरूलाई जानकारी दिँदै भनेको छ, “कृपया हाम्रो सुरक्षाका लागि यी अस्थायी उपायहरूलाई सहयोग पुर्याउनुहोस्। निर्धारित उडानभन्दा कम्तीमा तीन घण्टा अघि विमानस्थलमा आइपुग्नुहोस्।”
सैनिक सतर्कता र हवाई सुरक्षा सतर्कताको यो कदम भारतले लिएको ‘Operation Sindoor’ पश्चात आएको हो, जसमा भारतले पाकिस्तानमाथि हवाई हमला गरेको थियो र त्यसपछि पाकिस्तानबाट पनि जवाफी हमला भएको थियो।
भारतले आफ्नो सीमावर्ती क्षेत्रका सबै प्रमुख सहरहरूमा सुरक्षा बलको संख्या बढाएको छ, र हवाई सुरक्षा संयन्त्रलाई अझ कडाइ गरिएको छ। भारतमा हालको स्थिति हेर्दा नागरिक विमान सेवाहरू तत्काल सामान्य अवस्थामा फर्कने संभावना न्यून देखिन्छ।
Leave a Reply