भारतले पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द गर्‍यो, पहलगाम घटनापछि आयातमा कडाइ

नयाँ दिल्ली — पहलगाम घटनापछि भारतले पाकिस्तानसँगको व्यापारिक नाता झन् कडा बनाउँदै आयातमा प्रतिबन्ध लगाएको छ। सरकारको यो निर्णयपछि सबैभन्दा बढी असर बिरे (लाहोरी) नुन र ड्राइ फ्रुट्समा परेको छ। भारतीय व्यापारीहरूले पाकिस्तानबाट आउने बिरे नुनका नयाँ अर्डरहरू रद्द गर्नुका साथै पुराना अर्डरहरू पनि रोकिएका छन्।

सालौं यता भारतले पाकिस्तानबाट सयौँ टन बिरे नुन, खजूर, कालो किसमिस र सब्जाका बियाँहरू आयात गर्दै आएको थियो। यी सामान अफगानिस्तान हुँदै पाकिस्तानबाट भारत भित्रिने गर्थे। तर अब, केन्द्र सरकारले पाकिस्तानबाट हुने सबै किसिमका आयात रोकेपछि व्यापारीहरूले बिरे नुनको ठूलो खेप अर्डर नै रद्द गरेका छन्।

स्रोतका अनुसार, पुराना अर्डरहरू पनि अब भारतभित्र प्रवेश गर्न नपाउने सम्भावना उच्च छ। व्यापारीहरू अब यी सामग्रीहरू अन्य मुलुकहरूबाट ल्याउने तयारीमा छन्। तर यसले ढुवानी लागत बढाउने भएकाले बजार मूल्य पनि चर्किन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी, भारतले बङ्गलादेशबाट कपासको ठूलो मात्रामा आयात गर्ने गरे पनि हाल भारत–बङ्गलादेश सम्बन्ध चिसिएको कारणले गर्दा कपासको मूल्य पनि उकालो लाग्न सक्ने विश्लेषकहरूले बताएका छन्।

भारतको यो निर्णयले पाकिस्तानसँगको द्विपक्षीय व्यापार सम्बन्धमा फेरि एक पटक ठूलो धक्का पुर्‍याएको छ। व्यापारिक दृष्टिकोणले हेर्दा उपभोक्ताहरूलाई आवश्यक दैनिक सामग्रीहरू अझ महँगो मूल्यमा किन्नुपर्ने अवस्था आउन सक्छ।