विश्वकै कुख्यात जेल ‘अल्काट्राज’ फेरि खुल्ने, ट्रम्पको घोषणा अमेरिकी राजनीति हल्कााउने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि संसारकै सबैभन्दा कुख्यात र डर लाग्दो जेलमध्ये एक, अल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका छन्। आइतबार आफ्नो सामाजिक सञ्जाल Truth Social मा पोस्ट गर्दै उनले लेखे, “अमेरिका अहिले क्रुर, हिंस्रक र बारम्बार अपराध गर्नेहरूबाट त्रसित छ। अब ती अपराधीहरूका लागि छुट हुनेवाला छैन – उनीहरू सीधै अल्काट्राज जानेछन्।”

ट्रम्पले कारागार ब्यूरो, न्याय विभाग, एफबीआई र होमल्यान्ड सेक्युरिटीलाई तत्काल अल्काट्राज पुनः खोल्न र विस्तार गर्न निर्देशन दिइसकेका छन्। उनका अनुसार, यो कदम अमेरिकामा कानून, सुरक्षा र न्यायको नयाँ युग सुरुवात गर्नेछ।

अल्काट्राज जेल, जुन अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोको तट नजिकैको एक टापुमा अवस्थित छ, सन् १९६३ मा बन्द गरिएको थियो। त्यसबेलादेखि यो पर्यटकीय स्थलका रूपमा परिचित रहँदै आएको छ। तर ट्रम्पको घोषणाले अब यो स्थल फेरि एकपटक क्रुर अपराधीहरूको जेल बन्नेछ भन्ने स्पष्ट संकेत दिएको छ।

अल्काट्राज पहिले ‘Escape is Impossible’ भनिने विश्वकै सबैभन्दा सुरक्षित जेल मानिन्थ्यो। यहाँबाट भाग्न कोसिस गर्नेहरू मध्ये धेरैले या त ज्यान गुमाए, या सागरमै हराए।

ट्रम्पको यो निर्णयलाई उनका समर्थकहरूले अमेरिकाको सुरक्षा सुनिश्चित गर्ने शक्तिशाली कदम भनेका छन्, भने आलोचकहरूले यसलाई मानव अधिकारमाथिको संभावित जोखिमको रूपमा लिएका छन्। जे होस्, ट्रम्पका पछिल्ला कदमहरू फेरि एकपटक अमेरिकी राजनीतिमा हलचल ल्याउने निश्चित देखिन्छ।