‘जार’ अमेरिकासहित विभिन्न देशमा एकसाथ रिलिज

फिल्म निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको चलचित्र ‘जार’ अब नेपाली दर्शक मात्र होइन, अन्तर्राष्ट्रिय दर्शकसमक्ष पनि प्रदर्शनमा आएको छ। बिहीबारदेखि मध्यपूर्वका युएई, कतार र बहराइनमा एकसाथ फिल्मको स्क्रिनिङ सुरु गरिएको निर्माण कम्पनी फेरि टेल पिक्चर्सले जानकारी दिएको छ।

नेपाल र भारतमा यसअघि नै प्रदर्शनमा आइसकेको फिल्म शुक्रबारदेखि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका र युरोपका विभिन्न देशहरूमा पनि रिलिज हुने तयारीमा छ।

इन्द्रबहादुर राईको चर्चित कथामा आधारित यो फिल्मले २ सय वर्ष पुरानो नेपाली समाजको कथा चित्रण गर्छ। फिल्मले नेपाल र भारतमा राम्रो समीक्षासमेत बटुलिरहेको छ।

‘जार’ मा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा मुख्य भूमिकामा छन्। सिक्किममा छायांकन गरिएको यो फिल्म होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो।

कार्यकारी निर्माताको रूपमा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्। छायांकन सरवानन इलावार्सुले गरेका हुन् भने सम्पादन अखिलेश राईले गरेका छन्। संगीत झुमा लिम्बू र गंगा थापाले तयार पारेका छन्।

नेपालमा फिल्मको वितरण एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गरिरहेका छन्।