जेनजी पुस्तालाई वर्षमान पुनका तीन सुझाव

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले डिजिटल प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किरहेको जेनजी (Gen Z) पुस्तालाई नेतृत्वमा आउन आग्रह गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित विद्यार्थी एकता दिवसको अवसरमा पार्टी सम्बद्ध अखिल क्रान्तिकारी काठमाडौं महानगर समितिद्वारा आयोजित फुटसल प्रतियोगिता उद्घाटन गर्दै पुनले जेनजी पुस्तालाई राजनीतिमा सक्रिय भई नेतृत्व विकास गर्नुपर्ने बताए । उनका अनुसार, राजनीतिक दलहरूले पनि नयाँ पुस्तालाई अगाडि ल्याउन आवश्यक वातावरण सिर्जना गर्नुपर्छ ।

उनले बताएअनुसार माओवादी केन्द्रले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा क्रान्तिकारी संगठनको नेतृत्व ३० वर्षभन्दा कम उमेरका विद्यार्थीलाई दिँदै जेनजीलाई अगाडि सारेको हो । यही कारण क्रान्तिकारी संगठन नेविसंघ (कांग्रेस) र अनेरास्ववियु (एमाले) सँग प्रतिस्पर्धा गर्न सफल भएको उनले दाबी गरे ।

पुनले भने, “जेनजी माओवादी केन्द्रले विद्यार्थी संगठनको नेतृत्व जेनजीको हातमा दिएर क्रान्ति गरेको छ । जेनजीको हातमा नेतृत्व जानु आफैँमा क्रान्ति हो । स्ववियुमा क्रान्तिकारीले राम्रो परिणाम निकाल्नुको कारण जेनजीमा नेतृत्व जानु हो ।”

डिजिटल प्रविधिमा सशक्त देखिएको जेनजी पुस्तालाई पुनले तीन महत्वपूर्ण सुझाव दिए:

पहिलो, डिजिटल प्रविधिका नकारात्मक प्रवृत्तिबाट टाढा रहन।
दोस्रो, इतिहास, प्रकृति र समाजलाई बुझ्ने अभ्यास गर्न।
तेस्रो, सूचनाको भीडभाडमा ‘सही’ र ‘गलत’ छुट्याउने क्षमता विकास गर्न।

उनले थपे, “डिजिटल प्रविधिका धेरै फाइदा हुँदाहुँदै पनि यसले व्यक्तिलाई समाजबाट अलग गराउने खतरा छ । कुन सूचना सही र कुन गलत भन्ने कुरा बुझ्न नसके समाजलाई नै गलत बाटोतिर धकेल्न सक्ने अवस्था आउन सक्छ । अहिले संसारभर प्रकृतितिर फर्किनुपर्ने लहर सुरु भएको छ ।”

कार्यक्रममा क्रान्तिकारीका पदाधिकारी र अतिथिबीच मैत्रीपूर्ण फुटसल खेलसमेत आयोजना गरिएको थियो ।

२०२१ सालको जेठ १ गते पञ्चायती शासनविरुद्ध विद्यार्थीहरूले राजधानीमा गरेको ऐतिहासिक प्रदर्शनको सम्झनामा विद्यार्थी एकता दिवस मनाउने गरिन्छ । सो दिनको आन्दोलनले स्वतन्त्र विद्यार्थी युनियन स्थापना गर्ने अधिकार सुनिश्चित गर्न पञ्चायती सरकारलाई बाध्य पारेको थियो ।