काठमाडौं अनामनगर र पशुपति क्षेत्रबाट जुवा खेल्दै गरेका १७ जना पक्राउ

काठमाडौं उपत्यकामा प्रहरीले जुवा खेल्दै गरेका १७ जनालाई पक्राउ गरेको छ। शुक्रबार र शनिबार दुई छुट्टाछुट्टै स्थानबाट पक्राउ परेका उनीहरूमाथि हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो अनामनगरबाट १० जना पक्राउ परेका हुन्। काठमाडौं महानगरपालिका–२९ स्थित स्थानबाट पक्राउ पर्नेमा ४० वर्षीय रामजी बस्नेतसहित अन्य ९ जना रहेका छन्। उनीहरूको साथबाट दुई लाख ५७ हजार ४ सय रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, शुक्रबार अपराह्न पशुपति क्षेत्रअन्तर्गत जयबागेश्वरीस्थित एक घरबाट सात जना पक्राउ परेका छन्। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–८ स्थित सो घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट एक लाख ७ हजार ९१५ रुपैयाँ नगद बरामद भएको छ।

हाल दुवै घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।