काठमाडौं । ‘के घर के डेरा : घर नं २’ शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म हो । फिल्मको अग्रिम बुकिङ खुला भइसकेको छ र बुकिङमा फिल्मले अपेक्षाकृत धेरै शो पाएको देखिएको छ ।
फिल्मले देशकै ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा २५ शो र काठमाडौं उपत्यका बाहिर २२ शो पाएको छ । क्यूएफएक्सका सबै आउटलेटमा जम्मा ४७ शो पाएको छ ।
आइएनआई सिनेमाजले आफ्ना चार वटा आउटलेटमा १५ शो दिएको छ । वान सिनेमाजले कालीमाटीस्थित आउटलेटमा चार शो दिएको छ भने एफक्यूब सिनेमाले ४ शो दिएको छ । यद्यपि, यी सबै बुकिङको आधारमा हुन् र शोमा केही हेरफेर हुन सक्ने सम्भावना छ ।
फिल्मका वितरक करण श्रेष्ठका अनुसार अझै केही हलहरूले शो खुलाउने तयारीमा छन् । उनका अनुसार बिहीबार बिहानसम्म देशभरका थप हलहरूले फिल्मको शो तय गर्नेछन् ।
दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘के घर के डेरा : घर नं २’ ले हालसम्म राम्रो प्रचार र हाइप बनाएको छ । निर्माण पक्षले फिल्मको व्यापार राम्रो हुने विश्वास लिएको छ ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारहरूको अभिनय रहेको छ । कथावस्तु चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन् ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुति रहेको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
फिल्मले घर र डेराको कथा बोकेको छ । घर नभएकाहरूले घर बनाउने सपना देख्ने संघर्ष र घर भएकाहरूको भोगाइलाई फिल्मले समेटेको छ । फिल्मको प्रिमियर बुधबार साँझ काठमाडौंमा हुने बताइएको छ, जसमा विभिन्न राजनीतिक, सामाजिक तथा चलचित्र क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
Leave a Reply