काठमाडौँ । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमालको सफल आरोहण गरेकी छन् । उनले एकै सिजनमा दुई शिखर आरोहण गरेकी हुन्, त्यो पनि एक दिनको अन्तरालमा ।
कविताले बुधवार सामाजिक सञ्जालमार्फत सगरमाथा र ल्होत्से शिखरका तस्बिरहरू सार्वजनिक गरेकी छन् । ती तस्बिरहरूमा उनी दुवै शिखरको चुचुरोमा पुगेर नेपाली राष्ट्रिय झन्डा फहराउँदै देखिन्छिन् ।
साथै, तस्बिरसँगै उनले यात्राको अनुभव पनि साझा गरेकी छन् । उनले लेखेकी छन् – यो यात्रा केवल शिखरहरूको बारेमा मात्र थिएन, यो त सपना देख्नेहरूका लागि थियो, जसले सीमाहरूभन्दा माथि उठ्ने साहस गर्छन् ।
उनले थप लेखेकी छन् – सबैभन्दा महत्त्वपूर्ण कुरा मैले यसलाई जितिनँ, म यो जितभन्दा माथि थिएँ । म एक व्यक्तिको रूपमा हुर्किएँ, आफूलाई हराइरहेको महसुस गरिरहेकी थिएँ, तर अन्ततः आफैलाई फेला पारें ।
कविताले यो आरोहण विश्वप्रसिद्ध आरोही निर्मल पुर्जाको नेतृत्वमा रहेको एलिट एक्सिपिडिसन टिमसँग मिलेर गरेकी हुन् ।
फिल्म क्षेत्रमा पनि सक्रिय रहेकी कविताको डेब्यु फिल्म ‘एक्लो’ छिट्टै प्रदर्शनमा आउँदैछ । अभिनेत्रीको रूपमा फिल्ममा प्रवेश गरेकी कविता अब साहसिक खेलकुदको क्षेत्रमा पनि प्रेरणादायी अनुहार बन्दै गएकी छन् ।
Leave a Reply