भोजपुर — अरुण गाउँपालिका–७ सिक्रेटारस्थित ‘कैलाश पर्वत र हरित हिल’लाई संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम सुरु गरिएको छ। यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महत्त्वलाई मध्यनजर गर्दै स्थानीय सरकारद्वारा संरक्षण तथा पूर्वाधार निर्माण आरम्भ गरिएको हो।
वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश डाँडासम्म पुग्न पदमार्ग निर्माण भइसकेको छ भने हरित हिलसम्मको बाटो पनि निर्माणाधीन अवस्थामा रहेको छ। यस कार्यका लागि प्रदेश सरकारबाट पाँच लाख रुपैयाँको बजेट प्राप्त भएको छ।
योजना अनुसार कैलाश पर्वत, हरित हिल, गौरीशंकर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय गन्तव्य बनाइने लक्ष्य छ। पर्यटकलाई लक्षित गर्दै वडा कार्यालय नजिकै १० लाख रुपैयाँको लागतमा बाल समेत गरिएको छ।
स्थानीय बासिन्दा टेकबहादुर बस्नेतले वडाको यो पहलले उत्साह थपेको बताएका छन्। उनका अनुसार विगतमा ध्यान नपुगेका यी ऐतिहासिक स्थलहरू संरक्षणविहीन अवस्थामा थिए। अब विकास भएपछि आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने आशा गरिएको छ।
कैलाश पर्वत र गौरीशंकर मन्दिरमा वर्षमा एकपटक भव्य मेला समेत लाग्ने गर्छ, जहाँ स्थानीय बासिन्दासँगै छिमेकी जिल्लाका दर्शनार्थीहरू पनि आउने गरेका छन्।
Leave a Reply