शादीको 4 दिनमै श्रीमतीको काख रित्तियो: कश्मीरको हमलामा लेफ्टिनेन्ट विनयको बलिदान, श्रीमती भन्छिन् – ‘मुस्लिमलाई दोष नदेऊ, न्याय मागौँ

कश्मीरको पहलगाममा भएको दर्दनाक आक्रमणले एउटा नवविवाहित जोडीको सपना चुँडियो। तर मृतक लेफ्टिनेन्ट विनय नरवालकी पत्नी हिमांशी नरवालले जुन धैर्य र शान्तिको सन्देश दिइन्, त्यो सम्पूर्ण भारतवर्षका लागि प्रेरणाको स्रोत बनेको छ।

२२ अप्रिल २०२५, जम्मु-कश्मीरको बैसरन उपत्यका, पहलगाम — जब एक आतंककारी हमलामा भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवालको मृत्यु भयो, तब भारत शोकमा डुब्यो। तर यो घटनामा सबैभन्दा साहसिक र हृदयस्पर्शी प्रतिक्रिया आयो उनको नवविवाहित पत्नी हिमांशी नरवालबाट। उनले स्पष्ट भनिन्, “हामी चाहँदैनौं कि यो घटना मुस्लिम वा कश्मीरी समुदायद्विरुद्ध नफरतको रुपमा प्रयोग होस्। हामी केवल शान्ति चाहन्छौं र दोषीलाई न्यायिक सजाय।”

लेफ्टिनेन्ट विनयको विवाह अप्रिल १६ मा भएको थियो र रिसेप्सन अप्रिल १९ मा। त्यसपछि उनी श्रीमतीसँग कश्मीर भ्रमणमा गएका थिए। तर रिसेप्सनको चार दिनपछि नै उनले जीवन गुमाए।

हरियाणाको करनाल निवासी विनय नरवालले बीटेक सकेपछि नौसेनामा सेवा सुरु गरेका थिए। दुई वर्षअघि भर्ती भएका उनी राष्ट्रप्रेम र कर्तव्यमा समर्पित थिए।

हिमांशी नरवाल अहिले पनि आँशु पुछ्दै, तर दृढतापूर्वक बोल्छिन् –
“हामी देशका नागरिकलाई यति मात्रै भन्न चाहन्छौं कि नफरत कुनै समाधान होइन। यो हाम्रो व्यक्तिगत पीडा हो, तर यसको प्रयोग साम्प्रदायिक द्वन्द्व फैलाउन हुँदैन।”

उनी भन्छिन्, अब आफू पनि देशसेवाको मार्ग रोज्ने निर्णयमा छिन्। करनालमा आयोजित रक्तदान कार्यक्रममा उपस्थित रहँदै उनले देशप्रेमको अर्को उदाहरण प्रस्तुत गरिन्।

यस घटनाले भारतलाई झकझक्याएको छ – एक युवक जसको नयाँ जीवन सुरु भएको केही दिनमै समाप्त भयो। तर, उनकी पत्नीको बोलीले जनताको मन छुन्छ – ‘हाम्रो उद्देश्य बदला होइन, न्याय र शान्ति हो।’