काठमाडौं महानगरका नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधिएको छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

मंगलबार प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत भएको भन्दै स्पष्टीकरण सोधेका हुन्। उनले आफ्नो कार्यकक्षको ताला खोल्ने क्रममा नगर प्रहरीले किन अवरोध पुर्‍याएको भन्ने विषयमा स्पष्टीकरण दिन भनेका छन्।

महानगर स्रोतका अनुसार पाण्डेलाई लिखित रुपमा स्पष्टीकरण पत्र पठाइएको हो। सो घटनाबारे पाण्डेनिकट स्रोतले भने, “कार्यालय र सम्पत्तिको सुरक्षा गर्नु नगर प्रहरीको कर्तव्य हो। प्रमुख प्रशासकीय अधिकृत कहिले आउनुभयो, बिदामा हुनुहुन्थ्यो कि थिएन, हाजिर कापी कहाँ थियो भन्ने विषय नगर प्रहरीको कार्यक्षेत्रमा पर्दैन।”

यस विषयमा नगर प्रहरी प्रमुख पाण्डेसँग जिज्ञासा राख्दा उनले स्पष्टीकरण आएको पुष्टि गरे तर अन्य विवरणका लागि प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न सुझाव दिए।