देशभरका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन्। वीरगञ्ज महानगरपालिका–१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा खानेपानी क्षेत्रलाई उच्च प्राथमिकता दिने जानकारी गराए।
मन्त्री यादवका अनुसार नेपाली जनतालाई शुद्ध र सुरक्षित पानी उपलब्ध गराउनु सरकारको प्रमुख लक्ष्य हो। “नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो,” उनले भने, “खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा आयोजना एकीकृत रुपमा सञ्चालन गर्नेछौँ।”
उनले खानेपानीका साथै सरसफाइ क्षेत्रमा पनि लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य पूरा गरिने बताए। कार्यक्रममा मन्त्री यादवले आफू मन्त्रीको हैसियतले योजनाको नियमित अनुगमन गर्दै समयमा सम्पन्न गर्न तल्लीन हुने उल्लेख गरे।
नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालका अनुसार यस आयोजनाबाट वडा नं १५ र १६ का करिब ३,५०० घरधुरी लाभान्वित हुनेछन्। हालसम्म खानेपानीको अभावमा दैनिक कठिनाइ भोगिरहेका स्थानीय बासिन्दालाई अब सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ।
Leave a Reply