उपत्यका खानेपानी लिमिटेड कार्यकारी निर्देशकको राजीनामा माग गर्दै ट्रेड युनियनको आन्दोलन

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक अशोक कुमार पौडेलको राजीनाको माग गर्दै क्रियाशील ट्रेड युनियन आन्दोलनमा उत्रिएका छन्। बिहीबार लिमिटेड परिसरमै उत्रिएर उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।

यसअघि ट्रेड युनियनहरूले वैशाख ३१ भित्र राजीनामा दिनु पर्ने भन्दै पौडेललाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए। त्यसैअनुसार पदत्याग नगरे आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइएको थियो।

१३ महिनाको कार्यकाल निराशाजनक रहेको आरोप लगाउँदै युनियनले खानेपानी मन्त्रीसमक्ष नयाँ कार्यकारी प्रमुखको माग गरेका छन्। उनीहरूले २०८१ सालको बाढीपछि क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा पुनर्स्थापना गर्न पौडेल असफल भएको बताएका छन्।

त्यस्तै, दैनिक ३० करोड लिटर खानेपानी वितरण हुँदा पनि बिलिङ तथा नगद संकलन वृद्धि गर्न ठोस योजना ल्याउन नसकेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।