– काठमाडौंस्थित बेलायती राजदूतावासले शुक्रबार एक कार्यक्रमका बीच बेलायती सम्राट राजा चार्ल्स तृतीयको जन्मदिन मनाएको छ।
कार्यक्रमको आयोजना राजदूत रब फेन र उनकी पत्नी जुलिया फेनले गरेका थिए। कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथि रहेका थिए।
बेलायतको राष्ट्रिय दिवसका रूपमा समेत मनाइने राजा चार्ल्सको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, कूटनीतिक समुदायका सदस्य, शिक्षाविद्हरू, चिभिनिङ स्कॉलरहरू, मिडिया प्रतिनिधि र विकास साझेदारहरूको व्यापक उपस्थिति रहेको थियो।
नेपाल–बेलायत सम्बन्धको पुनः पुष्टि
हालै सम्पन्न बेलायती अधिराजकुमार र अधिराजकुमारीको नेपाल भ्रमणपछिको यो कार्यक्रमलाई नेपाल–बेलायतको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।
कार्यक्रमले गोर्खालीहरूको योगदान, व्यापार, लगानी, शिक्षा र विकास साझेदारीका थुप्रै पक्षहरूलाई उजागर गरेको बताइएको छ।
राजदूत फेनले कार्यक्रममा बोल्दै दुई देशबीचको मित्रता, सम्मान र सहकार्यको खुलेर प्रशंसा गरे।
उनले भने, “नेपालको प्रगतिले अन्तर्राष्ट्रिय ध्यान तानेको छ। लन्डनमा वित्तीय क्षेत्रका नेतृत्वकर्ताहरू नेपाललाई लगानीको आकर्षक गन्तव्यका रूपमा बुझ्न थालेका छन्।”
राजदूत फेनले हालै सम्पन्न बेलायती शाही परिवारको भ्रमणले दुई देशबीचको भावनात्मक सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै नेपालसँगको सहकार्यलाई अझ सशक्त रूपमा अगाडि बढाइने विश्वास व्यक्त गरे।
साझा भविष्यप्रति सकारात्मक संकेत
कार्यक्रमले नेपाल–बेलायत सम्बन्धको केवल औपचारिक पाटो मात्र होइन, जनस्तरको मित्रता र दीर्घकालीन सहकार्यको भावनालाई समेत प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।
बेलायती राजदूतावासका अनुसार यस्ता कार्यक्रमहरूले नेपालमा बेलायती उपस्थिति र सहयोगका विविध आयामहरूलाई व्यापक रूपमा जोड्ने विश्वास गरिएको छ।
Leave a Reply