काठमाडौं, असोज २८
कोशी र रोशी खोलाको बाढीबाट प्रभावित क्षेत्रका जनताहरू अझै पनि राहत र पुनर्निर्माणको पर्खाइमा छन्। यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र) का सांसदद्वय सूर्यमान दोङ र लेखनाथ दाहालले संघीय सरकारको उदासीनता प्रति कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै काभ्रे र सिन्धुली क्षेत्रका प्रतिनिधि रहेका उनीहरूले असोज ११ र १२ गतेको अबिरल वर्षाले पुर्याएको क्षति प्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए।
“विपद् व्यवस्थापन कोषमा ७ अर्ब रुपैयाँ हुँदा पनि पीडितलाई खर्च गरिएको छैन,” सांसद दाहालले आक्रोश पोख्दै भने, “कोशी र रोशी खोला किनारका जनतालाई राहत दिन सरकारले आँखा चिम्लेको छ।”
सांसद दोङले पनि सरकारलाई “जनताको पीडामा मलहम लगाउने” काम गर्न आग्रह गरे। उनले थपे, “सरकारलाई जानकारी नै छैन कि जानबुझेरै बेवास्ता गरेको हो?” भन्ने प्रश्न आजको सदनमा गुञ्जियो।
बाढीले गर्दा घरबारविहीन, खेतीपाती गुमाएका र अवरुद्ध यातायातको पीडामा रहेका नागरिकहरूले अझै राहत पाएका छैनन् भन्ने सांसदहरूको आरोपसँगै, अब सरकारको जवाफ कस्तो आउँछ भन्नेमा नजर लागिरहेको छ।
Leave a Reply