कोशी प्रदेशको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभामा प्रस्तुत हुने

कोशी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारीमा जुटेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्दै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामा पेस गर्न आग्रह गर्ने निर्णय गरेको हो। यसबारे जानकारी दिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले सभामा आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन्।

प्रदेशको सातौं (बर्खे) अधिवेशन आइतबार दिउँसो २ बजेदेखि सुरू भएको हो। अधिवेशनमा बजेट र नीति कार्यक्रमसँगै विभिन्न विधेयकहरू पेस हुने सरकारको तयारी छ।

प्रवक्ता भण्डारीका अनुसार, शैक्षिक परामर्श, भूमि सम्बन्धी व्यवस्था, र कर्मचारीको योगदानमा आधारित निवृत्तिभरण विधेयकहरू नयाँ अधिवेशनमा टेबुल गरिने छन्। साथै, तथ्यांकसम्बन्धी विधेयक पनि संसदमा प्रस्तुत हुनेछ।

यसअघि संसदमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी तीन विधेयकमाथि पनि यस अधिवेशनमा छलफल गरिनेछ। विपक्षी सांसदहरूले अघिल्लो अधिवेशनमा पेस गरेको सरकारी कामकाजको भाषा सम्बन्धी गैरसरकारी विधेयकसमेत यो अधिवेशनमा उठ्न सक्ने छ।

आजको कार्यसूचीमा दलका नेताहरूका सम्बोधनहरू तथा प्रदेश प्रमुखबाट पठाइएको पत्रको वाचन पनि समावेश गरिएको छ। यस्तै, सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ पनि सभामा प्रस्तुत गरिने छ।