ओली–प्रचण्डबीच सिंहदरबारमा गोप्य वार्ता, संक्रमणकालीन न्याय र सत्ता समीकरणमा गम्भीर छलफल

काठमाडौँ, २१ वैशाख – मुलुकको संक्रमणकालीन न्याय प्रक्रिया निर्णायक मोडमा पुगिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गोप्य वार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बिहान भएको यो महत्वपूर्ण भेटवार्तामा दुवै नेताबीच सङ्क्रमणकालीन न्याय, आयोग गठन र समसामयिक सत्ता समीकरणका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ।

पुन र खरेल पनि सहभागी

छलफलमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल समेत सहभागी रहेका छन्। सरकार र माओवादीबीच केही समयदेखि टुंगिन बाँकी रहेका विषयहरूलाई अन्तिम रुप दिने प्रयासस्वरूप यो बैठक आयोजना गरिएको बुझिएको छ।

संक्रमणकालीन न्यायलाई गति दिने संकेत?

छलफलमा विशेषगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पुनर्गठन र कार्यसञ्चालन विषयमा छलफल केन्द्रित भएको स्रोतको भनाइ छ। दुवै नेताले संक्रमणकालीन न्यायप्रति चासो देखाउँदै यसलाई अब निष्कर्षतर्फ लैजाने तयारी गरेका संकेत देखिएको छ।

समसामयिक राजनीतिक समीकरणमा पनि चर्चा

भेटवार्तामा संक्रमणकालीन न्यायसँगै भ्रष्टाचार, संघीयता कार्यान्वयन, र अन्य समसामयिक राजनीतिक विवादहरूमा साझा दृष्टिकोण बनाउने विषयमा पनि छलफल भएको बताइएको छ।

यस बैठकपछि मुलुकको न्याय प्रक्रिया र सत्ता समीकरणमा नयाँ मोड आउने अनुमान विश्लेषकहरूले गर्न थालेका छन्।