भारत–पाकिस्तान तनावका बीच प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

काठमाडौं, । भारत–पाकिस्तानबीचको पछिल्लो तनावका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा भारतको पहलगाममा अप्रिल २२ मा भएको आतङ्कवादी आक्रमणपछि उत्पन्न क्षेत्रीय परिस्थिति र भारतको प्रतिक्रिया विषयमा राजदूतले जानकारी गराएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, श्रीवास्तवले भारतले उक्त आक्रमणको जवाफस्वरूप सुरक्षा कारवाही गरे पनि ‘जेट हमला’ भएको भन्ने प्रचार असत्य भएको दाबी गरेका छन्। साथै, नेपाल सरकारले सार्वजनिक रूपमा घटनाप्रति दिएको प्रतिक्रिया तथा सहानुभूतिप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले भेटका क्रममा नेपाल सधैं शान्तिका पक्षमा रहेको स्पष्ट पारेका छन्। उनले भने, “नेपाल कुनै पनि प्रकारको आतङ्कवादको विरोध गर्छ र आफ्ना छिमेकी राष्ट्रविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमिको प्रयोग गर्न अनुमति दिने छैन।”

भारत–पाकिस्तानबीच बढ्दो तनावले दक्षिण एशियाली कूटनीति पुनः तातिएको छ। यस्तो बेला नेपालको तटस्थ र शान्तिकामी दृष्टिकोणले कूटनीतिक सन्तुलन कायम गर्न भूमिका खेल्ने विश्वास गरिएको छ।