देशको ढुकुटी रित्तो छ : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको ढुकुटी खाली भएको बताएका छन्। मंगलबार बालुवाटारमा आयोजित सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भको उद्घोष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पूर्व प्रधानमन्त्रीको हैसियतले आफूले नेतृत्व गरिरहँदा प्रशस्त बजेट रहेको उल्लेख गर्दै ओलीले अहिलेको अवस्था ‘काम गर्छु’ भन्न डराउनुपर्ने खालको रहेको बताए। “पहिले हामीले काम थाल्दा ढुकुटीमा पैसा थियो, अहिले चाहिँ बोल्न पनि डर लाग्ने भयो,” प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले आफ्नो अघिल्लो कार्यकालमा सबै स्थानीय तहमा स्वास्थ्य केन्द्र स्थापना सुरु गरिएको र तीमध्ये ६० भन्दा बढी अहिले पनि सञ्चालनमा रहेको जानकारी दिए। साथै, ‘एक रुपैयाँ चन्दा उठाएर पार्टी अफिस बनाउने’जस्ता कुराहरू व्यवहारमा कठिन हुने भन्दै उनले जनप्रतिनिधिहरूलाई यथार्थ बुझ्न सुझाव दिए।

“अस्ति हाम्रो पार्टी अफिस एक-एक रुपैयाँमा बनाउँछौं भन्ने पनि निस्किए। तर त्यो चन्दा त कसैले दिन्न नि। भन्नु एउटा कुरा हो, गरिनु अर्को कुरा हो,” ओलीले कटाक्ष गरे।

अन्त्यमा उनले देशको अर्थतन्त्र अब ओरालो लाग्ने स्थिति नरहेको दाबी गर्दै विकासका कामहरू आफूले थालेकै ठाउँमा रोकिएको बताए। “अब अर्थतन्त्र फेरि उठ्छ,” प्रधानमन्त्री ओलीले भने।