ऐतिहासिक कथामा आधारित नेपाली फिल्म ‘जार’ को प्रिमियर ललितपुरस्थित लबिम मलको क्युएफएक्स हलमा भव्य रूपमा सम्पन्न भएको छ। मंगलवार साँझ आयोजित कार्यक्रममा फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायत निर्माण टिम र थुप्रै फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रिमियर कार्यक्रम सुरु हुनुअघि मौलिक सांस्कृतिक नाचगान प्रस्तुत गरिँदा हलको वातावरण झनै जीवन्त भएको थियो। सिक्किममा खिचिएको यो फिल्म यसअघि दार्जिलिङ र सिक्किममा प्रिमियर भइसकेको छ, जहाँ दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।
‘जार’ को कथा साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक आख्यानमा आधारित छ, जसले लगभग २२५ वर्ष पुरानो समयको सामाजिक परिवेश चित्रण गर्छ। फिल्ममा भारतको राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा पनि मुख्य भूमिकामा देखिएकी छन्।
फेरि टेल पिक्चर्सको निर्माणमा तयार भएको यस फिल्ममा सामाजिक, ऐतिहासिक र कलात्मक पक्ष समेटिएको निर्माण टिमले जनाएको छ। फिल्म होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो भने कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन्।
फिल्म ‘जार’ यही शुक्रबारदेखि नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ।
Leave a Reply