लमजुङमा तरूण दलको अधिवेशन खुकुरी प्रहारकाण्डमा परिणत, चार जनाविरुद्ध जाहेरी

लमजुङ — नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल लमजुङको पाँचौँ जिल्ला अधिवेशन हिंसात्मक घटनामा परिणत भएको छ। अधिवेशनका क्रममा भएको खुकुरी प्रहारलगायत आक्रमणमा संलग्न भएको आरोपमा चार जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको छ।

घाइतेको तर्फबाट इन्दु अधिकारीले जिल्ला प्रहरी कार्यालय लमजुङमा जाहेरी दर्ता गरेकी हुन्। प्रहरी प्रमुख डिएसपी रेशम बोहोराका अनुसार जाहेरीमा मध्यनेपाल नगरपालिका–७ का किरण गुरूङ, धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरूङ र मर्स्याङ्दी गाउँपालिका–५ का कुमरासी गुरूङ ‘भूपेश’ विरुद्ध अभियोग लगाइएको छ।

शनिबार अधिवेशनको प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद हुँदा एक पक्षले खुकुरी, रड, इँटा र स्टेजमा राखिएको पानस प्रयोग गरी अर्को पक्षमाथि आक्रमण गरेको हो। घटनामा वडाध्यक्ष खुशीजंग गुरूङ र नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते भएका छन्। उनीहरूलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको छ।

अन्य घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको जिल्ला अस्पताल बेसीसहरमै उपचार गरी डिस्चार्ज गरिएको छ।

तरूण दल लमजुङका सभापति ललित गुरूङ विदेश (हङकङ) मा रहेका कारण उपसभापति कुमरासी गुरूङ ‘भूपेश’ को अध्यक्षतामा अधिवेशन आयोजना गरिएको थियो। अधिवेशनमा राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत, तरूण दल केन्द्रीय अध्यक्ष विद्धान गुरूङ र कांग्रेस लमजुङका सभापति तथा गण्डकीका अर्थमन्त्री टकराज गुरूङ सहभागी थिए।

जिल्लामा लामो समयदेखि कांग्रेसको देउवा पक्ष र शेखर–गगन समूहबीचको विवाद अधिवेशनमा चुलिएको हो। शेखर समूहले प्रतिनिधि छनौटमा आफूहरूलाई बहिष्कृत गरिएको आरोप लगाएको छ भने देउवा पक्षले अधिवेशन अवरुद्ध गर्ने नियतले विवाद भएको दाबी गरेको छ।

प्रहरीका अनुसार आरोपित चारै जना फरार छन् र खोजी कार्य जारी छ।