रूपन्देही । पच्चीस सय उनसत्तरी औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस वर्ष लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ । लुम्बिनी विकास कोषले शुक्रबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै विशेष समारोहबारे जानकारी दिएको हो ।
कोषका प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईका अनुसार बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना एकै दिन पर्ने वैशाख पूर्णिमालाई लक्षित गर्दै विशेष कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसहित सङ्घीय सरकारका मन्त्री, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रीपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहनेछ ।
वैशाख २८ गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ गरिनेछ । वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु, भिक्षुणी, लामा, गुरु तथा उपासक-उपासिकाहरुको सहभागितामा प्रार्थना सभा हुनेछ । त्यसपछि बिहान साढे सात बजे शोभायात्रा आयोजना गरिने कार्यक्रम रहेको छ ।
बुद्धको जन्मस्थल लुम्बिनीमा यस्तो विशेष कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गराउने आयोजकहरूको अपेक्षा छ ।
Leave a Reply