सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला

काठमाडौं । सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महेश थापालाई सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष नियुक्त गरेको हो। बेपत्ता छानबिन आयोगको अध्यक्षमा भने लीलादेवी गड्तौला नियुक्त भएकी छन्।

संखुवासभाका थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन् भने तेह्रथुमकी गड्तौला नेपालकै पहिलो महिला मुख्य सचिवको हैसियतबाट सेवा निवृत्त भएकी हुन्।

सरकारले दुई आयोगमा अध्यक्षबाहेक चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ।

सत्य निरूपण आयोगका सदस्यहरूमा अच्युतप्रसाद भण्डारी (जाजरकोट), डा. टीकाप्रसाद ढकाल (पाँचथर), पदमबहादुर शाही (जुम्ला) र कुमारी कौशल्य ओझा (कञ्चनपुर) छन्।

बेपत्ता छानबिन आयोगमा सदस्यका रूपमा गोपालनाथ योगी (सल्यान), अग्निप्रसाद थपलिया (झापा), सिर्जना पोखरेल (काठमाडौं) र विनिता नेपाली (कास्की) नियुक्त भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार आयोगका पदाधिकारीहरूको तलब तथा सुविधा राष्ट्रिय मानव अधिकार आयोग सरह हुनेछ।