नेकपा (माओवादी केन्द्र) अहिले धमाधम अभियानको लहरमा छ। सत्ता गुमाएसँगै विपक्षमा पुगेको माओवादी नेतृत्व गल्ती स्विकारी जनतामाझ फर्किन थालेको दाबी गरिरहेको छ। हिजो ‘देश र जनताको पक्षमा दिनरात काम गरिरहेका छौँ’ भन्दैन थाक्ने नेताहरू आज गल्ती स्वीकार गर्दै माफी मागिरहेका छन्।
अध्यक्ष प्रचण्डदेखि शीर्ष नेतासम्मले गरेको आत्मालोचनालाई मूर्तरूप दिँदै माओवादीले पछिल्ला महिना हुलाकी राजमार्गदेखि मध्यपहाडी लोकमार्गसम्म ‘जनतामुखी अभियान’ चलाइरहेको छ। हुलाकी अभियान फागुनमा झापाबाट सुरु गरी वैशाखमा कञ्चनपुरमा सकियो। र, अब अर्को चरणको अभियान जेठ १० सम्मका लागि मध्यपहाडी लोकमार्गमा केन्द्रित हुनेछ।
प्रवक्ता अग्नि सापकोटा भन्छन्, “यो अभियान केवल कार्यकर्ता केन्द्रित होइन, सिधै जनतासँग संवाद गर्ने अभ्यास हो। माफी माग्दै भरोसा पुनःस्थापना गर्ने प्रक्रिया हो।”
यस अभियानमा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू सुदूरपश्चिम पुगिसकेका छन्। जनसभा, अन्तरक्रिया र पैदलयात्राद्वारा सशस्त्र विद्रोहका दिनमा प्रयोग गरिएको ‘जनसम्पर्कको पुरानो शैली’लाई पुनर्जीवित गर्ने प्रयास देखिएको छ।
माओवादी नेताहरू भन्छन्, अबको बाटो चुनावी गठबन्धनको होइन, आफ्नै एजेन्डा र जनसमर्थनको हो। पार्टी केन्द्रीय सदस्य ईन्द्र आङ्बो भन्छन्, “२०७४ र २०७९ को चुनाव गठबन्धनमा लडेर माओवादीले आफ्नो आधार र एजेन्डा दुबै गुमायो। अब चाहिँ आफैं बलियो हुने बेला हो।”
यद्यपि, सबै नेता एक मतमा छैनन्। पार्टी सचिव राम कार्कीजस्ता नेताहरूले अभियानप्रति आलोचनात्मक दृष्टिकोण राखेका छन्। उनी भन्छन्, “पार्टी चुनाव केन्द्रित मात्रै भयो भने समाजवादी लक्ष्य ओझेलमा पर्छ।”
त्यसो भए पनि सत्ताबाट बाहिरिएपछि ‘जनतामुखी देखिने’ पार्टीको यो सक्रियता राजनीतिशास्त्री कृष्ण पोखरेललाई सकारात्मक लाग्छ। उनी भन्छन्, “यस्ता अभियानले जनता र नेतृत्वबीचको दूरी घटाउँछ, कार्यकर्तालाई सक्रिय बनाउँछ र नेताहरूलाई यथार्थ थाहा हुन्छ।”
अब माओवादीले ल्याएको ‘माफी माग्ने अभियान’ साँच्चिकै आत्मपरिक्षण र जनसरोकारको मुद्दामा केन्द्रित हो कि केवल चुनावी रनअप मात्र—भनेर मूल्यांकन गर्ने जिम्मा त फेरि जनताकै काँधमा छ।
Leave a Reply