माओवादी सांसद कुसारीद्वारा महिला समिति सभापतिमाथि माइक र नेमप्लेट प्रहार

काठमाडौं — सिंहदरबारस्थित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको बैठकमा बुधबार अनपेक्षित घटना घट्यो। नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छन्।

बैठक सुरु भएको केहीबेरमै कुसारी ढिलो पुगेपछि सभापति साहले अनुमतिबिना बोल्न खोजेको विषय उठाए। त्यसैक्रममा तर्कबितर्क सुरु भयो र स्थिति तनावपूर्ण बन्दै गयो। साहका अनुसार माइक कुसारीले फाल्दा मतर्फ नआएर अरू सांसदतर्फ गएको थियो।

सभापति साहले बैठकमा अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहमा अनुगमनका विषयमा छलफल भइरहेको बताए। तर सांसद कुसारीले भने आफूलाई बारम्बार भेदभावपूर्ण व्यवहार गरिएको आरोप लगाइन्। उनले सभापतिले आफ्नै छोरालाई स्वकीय सचिव बनाउँदै अनुगमनमा लाने, एनजिओसँग मिलेर घुम्ने, र खाली बिल स्वीकृत गराउने जस्ता गम्भीर आरोप लगाइन्।

‘मैले माइक र नेमप्लेट फालेको हो, लागेको छैन,’ कुसारीले भनिन्, ‘अब कि म त्यो समितिमा बस्दिनँ, कि सभापति हटाउनुपर्छ।’

उनले सभापति साहप्रति महिला सांसदप्रति उपेक्षापूर्ण व्यवहार गरेको पनि आरोप लगाइन्। साथै, अघिल्लो वर्ष बारा र पर्सा जिल्लामा गरिएको अनुगमनपछिको घटनाबाटै आफूप्रति पूर्वाग्रह सुरु भएको बताइन्।

यसबारे सभामुखले दुबै पक्षलाई छलफलका लागि बोलाइसकेको जनाइएको छ। समितिभित्रको वातावरण अहिले तनावपूर्ण बनेको छ।