सुदूरपश्चिम माओवादी विवादः सल्टियो कि बल्झियो?

नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्टको पुनरागमनपछि १५ महिनाभन्दा लामो समयदेखि जारी विवाद समाधान भएको देखिए पनि त्यसले अझ ठूलो असमझदारीको बीउ रोपेको विश्लेषण माओवादी नेताहरू आफैंले गर्न थालेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा केन्द्रीय नेताहरूको डडेलधुरामा बसेको बैठकले मानबहादुर धामीलाई हटाएर फेरि भट्टलाई दलको नेता बनाएपछि एकातिर समाधानको संकेत देखिएको हो भने अर्कोतर्फ असन्तुष्टि झनै चर्किएको छ।

सांसद अक्कलबहादुर रावलले विवाद तत्कालका लागि समाधान भएको बताए पनि भित्रभित्रै पार्टीभित्रको असन्तुलन अझै बाक्लिएको छ। खासगरी भट्टलाई हटाएर धामीलाई ल्याउने क्रममा साथ दिने सांसदहरू अझै सन्तुष्ट देखिँदैनन्।

२०७९ को निर्वाचनपछि भट्टलाई दलको नेता बनाइएको थियो तर २०८० माघ १२ मा बहुमत सांसदको हस्ताक्षरसहित उनलाई हटाएर धामीलाई नेता बनाउने निर्णय भएको थियो। सो निर्णय स्थायी कमिटीले अनुमोदन गरेर सर्कुलर पनि पठाइसकेको थियो। तर पछिल्लो बैठकले त्यस निर्णयलाई उल्ट्याएर फेरि भट्टलाई पुरानै पदमा ल्याएको छ।

केन्द्रीय सदस्यहरूले भने यो निर्णयले विवाद समाधान होइन, थप बल्झिने संकेत दिएको बताएका छन्। उनीहरूको भनाइमा पार्टी नेतृत्व, विशेषगरी प्रचण्डको निर्देशनबिना यस्ता ठूला निर्णय हुन सक्दैनन्। सुरुमा भट्टलाई हटाउने निर्देशन पनि केन्द्रबाट आएको हो भने अहिले पुनःस्थापित गर्न गरिएको पहल पनि त्यही हो।

भट्ट स्वयं इञ्चार्ज पद छाडेर दलको नेता बन्ने इच्छा राखेपछि सहइञ्चार्ज बिना मगरलाई नियुक्त गरिएको, त्यसपछि असन्तुष्टि चुलिएको, र अन्ततः सहइञ्चार्जहरू हटाउने निर्णय समेत यही विवादको परिणाम हो।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूह र जनार्दन शर्मा समूह दुवैले भट्टको पक्षमा भूमिका खेलेपछि प्रचण्डको हस्तक्षेपमा अन्ततः भट्टलाई पुनःस्थापित गरियो। तर यसरी नेताहरू हेरफेर हुँदा पार्टीभित्रको शक्ति सन्तुलनमा गम्भीर असर परेको देखिन्छ।

मानबहादुर धामीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया नदिए पनि उनका पक्षमा रहेका सांसदहरूले स्थायी कमिटीको निर्णय अध्यक्ष एक्लैले उल्ट्याउन नसक्ने दाबी गरेका छन्। उनीहरूको भनाइमा स्थायी कमिटीको निर्णय उल्ट्याउन केवल सोही तह वा केन्द्रीय समितिको अधिकार हुन्छ।

सांसदहरूले भट्टमाथि विभागीय मन्त्री बन्ने दौडमा लाग्ने, दलभित्र समन्वय नगर्ने, मुख्यमन्त्री बन्ने दाबी नगरी अन्यत्र लाग्नेजस्ता आरोप लगाउँदै उनलाई हटाएका थिए। त्यसबेला भट्टलाई हटाउनै प्रचण्डले निर्देशन दिएको चर्चा पनि माओवादी वृत्तमै छ।

अब ११ सदस्यीय दलमा ५–५ सांसद दुई पक्षमा विभाजित छन् भने सभामुखको भूमिकाले सन्तुलन तोक्ने अवस्था आएको छ। सभामुख भिमबहादुर भण्डारीले आवश्यक परे पदबाट राजीनामा दिएर पनि धामीको पक्षमा जाने संकेत दिएकाले विवाद अझ गहिरिने अनुमान गर्न सकिन्छ।

माओवादीभित्र सुदूरपश्चिम प्रदेशमा देखिएको यो विवाद तत्काल मेलमिलापजस्तो देखिए पनि गहिरो असन्तुष्टिको संकेत दिइरहेको छ। नेताहरूको भनाइअनुसार जुनसुकै बेला फेरि बल्झनसक्ने खतरासमेत रहेको छ।