विराटनगर – मोरङ जिल्लाको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। वैशाख ३० गते राति एक विवाह समारोहका क्रममा यो दुर्घटना भएको हो।
मृत्यु हुनेमा ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईं रहेका छन्। उनीहरू विवाह घरमा नाचगान गरिरहेका बेला करेन्ट लागेको थियो। सोही क्रममा ३० वर्षीया राधाकुमारी सिंह पनि करेन्ट लागेर सामान्य घाइते भएकी छन्।
घटनाबारे जानकारी दिँदै मोरङ प्रहरी प्रवक्ता डीएसपी बेदप्रकाश जोशीले बताएअनुसार विवाह समारोहमा माइक राख्नका लागि हाइटेन्सन लाइन नजिक बाँस गाडिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले बाँस ढलेर सो लाइनमा ठोक्किँदा करेन्ट सरेको थियो।
स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाह समारोहमा भएको उक्त घटनाले गाउँमा शोकको छायाँ छाएको छ।o
Leave a Reply