नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षायाम सुरु हुनुअघि नै सरकारलाई आवश्यक तयारी गर्न सचेत गराएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नागढुंगा-मुग्लिङ सडकखण्डको पुनर्निर्माण कार्य ढिलो गतिमा भइरहेको भन्दै चासो व्यक्त गरे ।

सांसद अर्यालले देशका प्रमुख नेताहरु सडकको अवस्थासँग अनभिज्ञ रहेको आरोप लगाए । उनले प्रधानमन्त्री र मन्त्रीहरू प्रायः हवाईजहाज र हेलिकप्टरबाट यात्रा गर्ने भएकाले सडकको दयनीय अवस्थाबारे जानकारी नहुने बताए ।

उनले भने, वर्षायाम अझै सुरु भएको छैन तर बाढीले नागरिकलाई असर गर्न थालिसकेको छ । नवलपरासीमा पुल भाँचिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको र बीपी राजमार्गसमेत बाढीले प्रभावित भएको जानकारी आएपछि अझै गम्भीर तयारीको आवश्यकता देखिएको हो ।

सांसद अर्यालले नागढुंगा-मुग्लिङ सडकखण्डको पुनर्निर्माण कार्य ‘कछुवाको ताल’ मा अगाडि बढिरहेको भन्दै आलोचना गरे । उनले ठेकेदार कम्पनीहरूसँग छलफल गरी तीन सिफ्टमा काम गराएर भए पनि वर्षा सुरु हुनु अगावै सम्भावित जोखिम न्यूनीकरण गर्न आग्रह गरे ।

उनले सम्बन्धित निकायलाई वर्षायामले निम्त्याउन सक्ने दुर्घटनाबाट नागरिकलाई जोगाउन ठोस योजना बनाएर अघि बढ्न सुझाव दिएका छन् ।