माओवादी केन्द्रद्वारा संसदमा विद्युत प्राधिकरणको आर्थिक अवस्था सार्वजनिक गर्न माग

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको आम्दानी र खर्चसम्बन्धी विषयमा देखिएको अन्योललाई स्पष्ट पार्न माग गर्दै प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमार्फत औपचारिक जानकारी गराउन आग्रह गरेको छ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सभामुखमार्फत नेपाल विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण माग गरेका हुन्। उनले निवर्तमान र वर्तमान प्रबन्ध निर्देशकद्वारा सार्वजनिक रूपमा दिइएका आर्थिक विवरणहरूबीच विसङ्गति देखिएको भन्दै जनमानसमा भ्रम सिर्जना भएको टिप्पणी गरे।

‘नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक र वर्तमान प्रबन्ध निर्देशकले मिडियामार्फत आम्दानी र खर्चका फरक विवरणहरू प्रस्तुत गरेकाले आम जनतामा अन्योल उत्पन्न भएको छ’, पाण्डेले भने, ‘त्यसैले संसदलाई सत्य विवरण उपलब्ध गराउन सभामुखमार्फत सम्बन्धित निकायलाई निर्देशन (रुलिङ) दिइयोस्।’

प्राधिकरणले देशभर विद्युत वितरण, निर्माण र निर्यात कार्य गरिरहेको सन्दर्भमा त्यसको आर्थिक पारदर्शिता अत्यावश्यक रहेको भन्दै सांसद पाण्डेले संसदको भूमिकामै प्रश्न उठ्ने स्थिति नआओस् भन्ने चेतावनीसमेत दिए।