काठमाडौँ, वैशाख २७ — पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षालाई लिएर नेपाल सरकारले चासो प्रकट गरेको छ। हालैको भारत-पाकिस्तानबीचको तनावलाई ध्यानमा राख्दै परराष्ट्र मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पाकिस्तानस्थित नेपाली दूतावास हाल त्यहाँ रहेका विद्यार्थीहरूसँग लगातार सम्पर्कमा रही उनीहरूको सुरक्षा सुनिश्चित गर्न लागि परेको छ।” मन्त्रालयले सरकार पूर्णरूपमा सचेत रहेको उल्लेख गर्दै आपतकालीन अवस्था आउँदा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
उता भारतमा रहेका नेपाली नागरिकको हकमा नयाँ दिल्लीस्थित नेपाली दूतावास तथा कोलकाता महावाणिज्यदूतावासले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। हालै जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै नेपाली दूतावासले नेपाली नागरिकहरूलाई सुरक्षित स्थानको पहिचान गर्न र भारत सरकारबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न आग्रह गरेको हो।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई निम्न कुरामा ध्यान दिन अनुरोध गरेको छ:
- तत्काल कुनै सहयोग आवश्यक परेमा नजिकको नेपाली दूतावास वा महावाणिज्यदूतावासमा सम्पर्क गर्ने।
- हालको परिस्थितिमा सतर्कता अपनाउने र सार्वजनिक स्थानमा विशेष सावधानी अपनाउने।
- स्थानिय सुरक्षाकर्मी तथा आधिकारिक निर्देशनको पालना गर्ने।
संकटकालीन अवस्थामा रहेका विद्यार्थी तथा आम नागरिकको सुरक्षाका लागि सरकारले आवश्यक तयारी गरिरहेको मन्त्रालयको भनाइ छ।
Leave a Reply