काठमाडौं । शुक्रबारदेखि नेपाली दर्शकले एकैपटक तीन नयाँ फिल्म हेर्ने मौका पाएका छन् । ती फिल्महरू हुन्— नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’, ‘हेल्लो काँशीराम’ र हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ ।
यी सबै फिल्महरू देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आएका छन् । यद्यपि, अहिले पनि गत साता रिलिज भएको फिल्म ‘उनको स्वीटर’ले राम्रो दर्शक पाइरहेको छ । त्यसैले नयाँ फिल्महरूको बक्स अफिस प्रतिस्पर्धा चर्किएको छ ।
‘के घर के डेरा : घर नम्बर २’
दीपेन्द्र के खनाल निर्देशित र बुद्धिसागरद्वारा लेखिएको यस फिल्मले घरबेटी र डेरावालबीचको मनोवैज्ञानिक, सामाजिक कथा चित्रण गर्छ । फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ ।
नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्म देशभर १६२ सोका साथ प्रदर्शनमा आएको छ ।
‘हेल्लो काँशीराम’
रिम विश्वकर्मा निर्देशित ‘हेल्लो काँशीराम’ रहस्यमय कथा पृष्ठभूमिमा आधारित हास्यप्रधान फिल्म हो । फिल्ममा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, उमेर राई (फुलन्देको आमा), भगेरी डन लगायतका कलाकार छन् । प्रियंका कार्कीको विशेष उपस्थिति पनि फिल्ममा देख्न सकिन्छ ।
रेडलाइन फिल्मस्को ब्यानरमा बनेको यो फिल्मले ४५ वटा शो पाएको छ ।
‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’
हरर जनरामा बनेको हलिउड फिल्म ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ नेपालमा पनि एकसाथ प्रदर्शनमा आएको छ । फिल्ममा ब्रेक बासिङ्गर, टोनी टोड र रिचर्ड हार्मोनको मुख्य भूमिका रहेको छ । पहिलो दिनमै यसले देशभर १०७ शो पाइरहेको छ ।
हालसम्मको ट्रेन्ड हेर्दा नेपाली फिल्म ‘के घर के डेरा : घर नम्बर २’को प्रतिक्षा दर्शकमा धेरै देखिएको छ भने ‘फाइनल डेस्टिनेसन’ले हलिउडप्रेमी दर्शक तान्ने अपेक्षा गरिएको छ ।
Leave a Reply