विदेश गएका श्रमिकको पैसाले कर्मचारीको भ्रमण र गाडी खर्च

काठमाडौं – वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले जम्मा गरेको वैदेशिक रोजगार कल्याणकारी कोषको रकम गलत तरिकाले खर्च गरिएको तथ्य महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले उजागर गरेको छ।

उक्त प्रतिवेदनअनुसार कोषको रकम सिधै कामदारको हितमा प्रयोग हुनुपर्ने हो भने पनि, विभिन्न कर्मचारी र वैदेशिक रोजगार व्यवसायीहरूको विदेश भ्रमण, गाडी खरिद र मर्मत, दूतावासमा कर्मचारी भर्ना लगायतमा खर्च गरिएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार यो कोषले सिपमूलक तालिम, अलपत्र कामदारको उद्दार, मृतकको शव स्वदेश ल्याउने, पीडित परिवारलाई क्षतिपूर्ति दिने जस्ता कार्यमा प्रयोग हुनुपर्ने स्पष्ट छ। तर, महालेखा प्रतिवेदनले देखाएको विवरण अनुसार ७९ लाख ४० हजार रुपैयाँ दुई थान विद्युतीय कार खरिदमा, २३ लाख ९८ हजार तीनवटा दूतावासका सवारी मर्मतमा, १८ लाख २७ हजार भ्रमण खर्चमा, र २ करोड ५७ लाख २८ हजार नियोगमा कर्मचारी नियुक्तिमा खर्च गरिएको छ।

त्यस्तै, नेपाली दूतावास अबुधाबीलाई वैदेशिक रोजगार मेला व्यवस्थापनका लागि ३३ लाख १६ हजार रकम खर्च गरिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनले स्पष्ट रूपमा कोषको उद्देश्य विपरीत यस्ता खर्चहरू भएको औंल्याउँदै, वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको पसिनाले संचित कोष केवल उनीहरूको हकहितका लागि मात्र प्रयोग गर्नुपर्नेमा जोड दिएको छ।